काठमाडौं, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ ।
भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए।
केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पु¥याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ ।
उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए ।


NPL Special
NPL Special
NPL Special
NPL Special