आगामी शुक्रबारदेखि आइतबारसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबारदेखि नै देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सुरुवात् हुने प्रक्षेपण गरिएको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ।
बिहीबारबाट वर्षाको गतिविधिमा थप तीव्रता आउने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने र बागमती तथा कोशीका पहाडी क्षेत्रमा धेरै भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ। शुक्रबार भने वर्षाको प्रभाव अझ विस्तार भई लुम्बिनी र कर्णाली प्रदेशमा समेत भारी वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
मौसममा आएको यो फेरबदलको मुख्य कारण बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली हो। उक्त प्रणाली हाल ‘डिप डिप्रेसन’मा परिणत भई उत्तर-पश्चिमतर्फ अघि बढिरहेकाले नेपालमा यसको प्रत्यक्ष प्रभाव पर्न लागेको हो। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशमा बुधबारदेखि नै वर्षाको क्रम बढ्ने देखिएको छ।
वर्षाका कारण पहाडी भेगमा पहिरो र तराई तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले नदी र खोला आसपासका बासिन्दालाई सचेत रहन भनिएको छ। यसले सडक तथा हवाई यातायात, पर्यटन र कृषि क्षेत्रमा समेत असर पुर्याउन सक्नेछ। विशेषगरी धान भित्र्याउने समय भएकाले किसानहरूलाई मौसमको अवस्था हेरेर मात्र काम गर्न र पर्वतारोहीहरूलाई हिमपातको जोखिमप्रति सजग रहन विभागले विशेष अनुरोध गरेको छ।


