Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको छ। सुनुवाइका क्रममा उनीहरूमाथि उठेका विभिन्न प्रश्न र उजुरीबारे छलफल भएको थियो। यस्तै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे थप विवरण माग गर्दै समितिले अनुमोदनसम्बन्धी निर्णय होल्ड गरेको छ।
संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। बुधबार अनुमोदित हुनेमा भारतका निश्चलनाथ पाण्डे, चीनका कल्याणराज शर्मा, अमेरिकाका चिरनजंग थापा, बेलायतका गौरवशमशेर राणा र जर्मनीका सरू जोशी छन्। त्यस्तै, इजरायल, स्पेन, ओमान, दक्षिण कोरिया र श्रीलंकाका लागि प्रस्तावित राजदूत पनि अनुमोदित भएका छन्।
भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। जयशंकरले सामाजिक सञ्जाल फेसबुकमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाली गृहमन्त्री गुरुङसँग भेटेर खुसी लागेको बताएका छन्।
अर्थ मन्त्रालयले भोटेकोशी बाढीका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा राजस्व संकलन प्रभावित हुने र खर्चको दायित्व बढ्ने अनुमान गरेको छ। बाढीबाट पुनर्निर्माणमा करिब ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि मन्त्रालयले ३.५ देखि ४ प्रतिशतसम्म मात्रै वृद्धि हुने अनुमान गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले सङ्गठित अपराधमा अभियोग दाबी कायम नभए अन्य मिलापत्रयोग्य मुद्दामा पीडित र प्रतिवादीबीच मिलापत्र गर्न सकिने व्यवस्था गर्दै सरकारी वकिल कार्यालयलाई परिपत्र गरेको छ। यसले ठगी, चेक बाउन्स, वैदेशिक रोजगार र अनुचित लेनदेनजस्ता मुद्दामा मिलापत्रको बाटो खोल्नेछ। तर, सम्बन्धित अभियोगमा पुनरावेदन प्रक्रिया अन्तिम भइसकेको हुनुपर्नेछ र पीडितको सहमतिमा प्रक्रिया अघि बढाइनेछ।
१३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ बुधबार सकिएको छ। अब संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न बाँकी छ। सुनुवाइका क्रममा साउदी अरेबिया, जापान र मलेसियाका लागि प्रस्तावित राजदूतको नैतिक आचरणबारे सांसदहरूले प्रश्न उठाएका छन्। समितिले आन्तरिक छलफलपछि निर्णय गर्ने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठन भएयताका ६ महिनामा भएका उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सिँचाइ आयोजनामार्फत थप हजारौँ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। नेपाल–भारत विद्युत् आयात क्षमता १,४०० मेगावाट र निर्यात क्षमता १,६५० मेगावाट पुर्याउने सहमति भएको छ। ऊर्जा दक्षता विधेयक संसद्मा पुगेको छ भने विद्युत् प्राधिकरणको पुनर्संरचनाको तयारी भइरहेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म २० वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा १६ अर्ब ५९ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको छ । सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ ।
बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१ अंकमा पुगेको छ । योसँगै सेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको हो । बैंकिङ समूह १.४५ प्रतिशत बढ्दा बजारलाई मुख्य टेवा मिल्यो । आज ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । १८८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने नौ कम्पनीको मूल्य स्थिर रह्यो ।
कोशीमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संघीयता सुदृढ गर्दै सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी शासन सञ्चालन गर्ने नौबुँदे साझा प्रतिबद्धता गरेको छ। मुख्यमन्त्रीहरूले संविधानको पूर्ण कार्यान्वयन, प्रदेश र स्थानीय तहबीच समन्वय, सुशासन, पारदर्शी बजेट व्यवस्थापन, नागरिकमैत्री सेवा, समावेशी विकास, प्रविधिको प्रयोग तथा प्रदेशबीच अनुभव आदानप्रदानमा जोड दिएका छन्। प्रतिबद्धता कार्यान्वयनको समीक्षा गर्न वर्षमा कम्तीमा एकपटक अन्तरप्रदेश बैठक गर्ने सहमति पनि भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गतेदेखि नेपालका सबै भूभागबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। यस वर्ष असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिन ढिलो बाहिरिएको हो। मनसुन बाहिरिएसँगै आगामी केही दिन मौसम घमाइलो रहने र पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व र पारिवारिक हैसियतबारे सांसदहरूले प्रश्न उठाएका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा उनको कार्ययोजनामाथि छलफलअघि नियुक्तिको योग्यताबारे बहस भएको हो। एमाले सांसद प्रेमप्रसाद दंगालले संविधानको धारा २९१ उल्लेख गर्दै पीआर त्यागेको कम्तीमा तीन महिना बितेपछि मात्र नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था रहेको स्मरण गराए।
दसैँ, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरी, लुटपाट, ठगी नियन्त्रण र भीडभाड हुने क्षेत्रको निगरानीका लागि १०० प्रहरी सादा पोसाकमा खटिएका छन्। सुरक्षा योजनाअन्तर्गत १४ सेक्टरमा गस्ती बढाइएको छ। ड्रोन, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ।
नेपालीको महान पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।यसका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको…
मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया थप छानबिनका लागि रोक्ने निर्णय गरिएको छ। बुधबार बसेको समितिको बैठकमा सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको साँठगाँठ, पोखराको जग्गा खरिद प्रकरण र अनुदानसम्बन्धी आर्थिक अनियमिततालाई लिएर गम्भीर प्रश्न उठाएका थिए।खरेलले यी आरोपहरूमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे पनि समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी र प्रमाणहरूको गम्भीर अध्ययन गर्न थप समय आवश्यक पर्ने भन्दै सुनुवाइ प्रक्रिया तत्कालका लागि ‘होल्ड’ गरेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) का सांसद थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष मंगलबार राजीनामापत्र बुझाएका हुन्। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्ट उनले बजेट पारित भएपछि पद त्याग्ने निर्णय गरेको स्रोतले जनाएको छ। सभामुख भण्डारीले राजीनामा प्राप्त भएको पुष्टि गरे पनि स्वीकृत गरेका छैनन्। थापा कञ्चनपुर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि कृषि तथा सहकारीमन्त्री थिए।
नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन् । उनले सर्वाधिक ३,२४५ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १,४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्। जनजाति महिलातर्फ ३४ उम्मेदवारमध्ये आठ र खुल्लातर्फ ४१ उम्मेदवारमध्ये १२ जना निर्वाचित भएका छन्।
यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी-जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।
इटालीका फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियामा खिचेको ‘द आफ्टरम्याथ’ नामक तस्बिरका लागि प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को मुख्य उपाधि जितेका छन्।लन्डनको नेचुरल हिस्ट्री म्युजियमद्वारा आयोजित यस ६२औँ संस्करणको प्रतियोगितामा मृत बच्चा बोकेको पोथी हात्तीको उक्त मार्मिक तस्बिर उत्कृष्ट घोषित भएको हो।निर्णायक मण्डलले यो तस्बिरलाई जनावरहरूको संज्ञानात्मक क्षमता, गहिरो शोक र भावनात्मक सम्बन्धको जटिलता उजागर गर्ने एक शक्तिशाली र जीवन्त प्रमाणको रूपमा व्याख्या गरेका छन्।
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ ।न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रबाट निर्वाचित देशमध्ये सबैभन्दा बढी मत पाएको हो। नेपाल सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित भएको छ। नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ मा परिषद्को सदस्य बनेको थियो। नयाँ कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ।

