सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मा पर्ने श्रीलङ्का टप्पुका बासिन्दाहरू वर्षौंदेखि सप्तकोशी नदीको बाढी र कटानका कारण त्रसित अवस्थामा जीवन बिताउन बाध्य छन्। बर्खायाममा नदीको बहाव बढेसँगै खेतीयोग्य जमिन कटान हुने क्रम नरोकिँदा यहाँका बासिन्दाहरूको गाँस र बास दुवै संकटमा परेको छ।
नदीले निरन्तर जमिन काट्दै लगेपछि धेरै परिवारहरू आफ्नो खेतबारी गुमाएर भूमिहीन बन्न पुगेका छन्। बस्ती नै जोखिममा परेपछि स्थानीयहरू सुरक्षित स्थानको खोजीमा भए पनि प्रभावकारी रोकथामको उपाय नहुँदा उनीहरूमा थप चिन्ता छाएको छ।

