काठमाडौं, कोरोना महामारी र सुस्त अर्थतन्त्रबाट प्रभावित उद्योग क्षेत्रको अवस्था अझै सुधार हुन सकेको छैन। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उद्योगहरूको औसत क्षमता उपयोग घटेर ४८.१३ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो क्षमता उपयोग ५१.४३ प्रतिशत थियो।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आव भटमास तेल उद्योगले सबैभन्दा बढी ९२.४१ प्रतिशत क्षमता उपयोग गर्दा वनस्पति घिउ उद्योगको क्षमता उपयोग २.३६ प्रतिशतमा सीमित रह्यो।
यस अवधिमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल १.५६ प्रतिशत र समग्र कृषि उत्पादन ०.८४ प्रतिशतले घटेको छ। धान उत्पादन ३.७६ प्रतिशत र अण्डा उत्पादन ५.७७ प्रतिशत घट्दा तरकारी र दूध उत्पादनमा भने सामान्य वृद्धि भएको छ।
अत्यधिक वर्षा तथा बाढीपहिरोका कारण कृषि, जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्र प्रभावित हुँदा गत आव आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आव यस्तो वृद्धिदर ४.४३ प्रतिशत थियो।
कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत, कृषि क्षेत्रको २४.५ प्रतिशत र उद्योग क्षेत्रको १३.७ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा बागमतीको योगदान सबैभन्दा बढी ३६.७१ प्रतिशत र कर्णालीको सबैभन्दा कम ४.२ प्रतिशत छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ प्रतिशतले बढेर ८२ खर्ब २३ अर्ब रुपैयाँ पुग्दा कर्जा प्रवाह ६.५४ प्रतिशतले मात्रै बढेर ५९ खर्ब ५१ अर्ब पुगेको छ। घरजग्गा कारोबारमा समेत सुस्तता देखिएको छ।
बाह्य क्षेत्रतर्फ निर्यात १३.८१ प्रतिशतले बढे पनि आयात १६.२० प्रतिशतले बढ्दा व्यापार घाटा १६.६३ प्रतिशतले वृद्धि भएर १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।
यद्यपि रेमिट्यान्स वृद्धि, घट्दो ब्याजदर, अनुकूल मनसुन र पुनर्निर्माणका गतिविधिले चालु आर्थिक वर्षमा कृषि, उद्योग तथा सेवा क्षेत्रको गतिविधि विस्तार हुने राष्ट्र बैंकको प्रक्षेपण छ।


NPL Special
NPL Special
NPL Special
NPL Special