काठमाडौं, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि नेपाली नागरिकले भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउने व्यवस्था कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित अनौपचारिक सहमति जुटेको हो।
भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेका अधिकारीहरूबीच सोमबार र मंगलबार भएको छलफलमा सेवा सञ्चालनबारे सकारात्मक सहमति बनेको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए।
उनका अनुसार दुवै देशले आवश्यक पूर्वाधार तयार गरिसकेकाले औपचारिक सहमति हुनासाथ सेवा सुरु गर्न सकिनेछ। प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय पक्ष पनि यस विषयमा सकारात्मक देखिएको उनले बताए।
यसअघि २०८० जेठमा भारत भ्रमणका क्रममा व्यक्ति–व्यक्ति र व्यक्ति–व्यापारीबीच डिजिटल भुक्तानी सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो। त्यसअन्तर्गत अन्तरदेशीय व्यक्ति–व्यक्ति (पीटुपी) भुक्तानी सेवा गत जेठमा कार्यान्वयनमा आए पनि व्यक्ति–व्यापारी (पीटुमर्चेन्ट) भुक्तानी सुरु हुन बाँकी छ।
क्यूआर सेवा सञ्चालनमा आएपछि नेपालीले भारतका पसल, होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्। यसले भारतमा नगद बोकेर हिँड्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ।
हाल नेपाली बैंकले जारी गरेका कार्डबाट भारतमा भुक्तानी तथा एटीएमबाट रकम झिक्न सकिने व्यवस्था छ। त्यस्तै, बैंक खातामार्फत सीमापार व्यक्ति–व्यक्ति भुक्तानीको सुविधा पनि उपलब्ध छ।


NPL Special
NPL Special
NPL Special
NPL Special