अन्ताल्या, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो सातामा हिमाल र जलवायु परिवर्तनको मुद्दाले अन्तर्राष्ट्रिय प्राथमिकता पाए पनि जलवायु वित्त, अनुकूलन तथा हानि र नोक्सानीका विषयमा ठोस निर्णय हुन सकेको छैन। विज्ञहरूले पहिलो साताका छलफललाई सकारात्मक आधारका रूपमा लिए पनि दोस्रो सातामा त्यसलाई कार्यान्वयनयोग्य निर्णयमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
जलवायु विज्ञ मञ्जित ढकालका अनुसार सम्मेलनमा अनुकूलन, उत्सर्जन न्यूनीकरण, जलवायु वित्त, न्यायोचित रूपान्तरण र महासागरसहितका पाँच प्रमुख विषयमा मन्त्रीस्तरीय वार्ता अघि बढेको छ। नेपालका लागि उत्सर्जन न्यूनीकरण, जलवायु वित्त र हिमाली क्षेत्रको जोखिम प्रमुख प्राथमिकता हुन्।
नेपाल, भुटान र कीर्गिस्तानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे संयुक्त रूपमा आवाज उठाएका छन्। हिमाली अनुसन्धान, नियमित अनुगमन र आगामी दुई वर्षसम्म वार्षिक संवाद सञ्चालन गर्ने विषयलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।
यसैगरी, सामुदायिक वन उपभोक्ता महासङ्घले स्थानीय समुदायको योगदान, जलवायु वित्तमा पहुँच र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको विषय उठाएको छ। भोटेकोशी क्षेत्रको विपद्बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विभिन्न देशका प्रतिनिधि तथा नागरिक समाजका ५०० भन्दा बढी प्रतिनिधिलाई अवधारणापत्र वितरण गरिएको छ।
विज्ञहरूका अनुसार दोस्रो साताको वार्तामा अनुकूलन वित्त तीन गुणा वृद्धि गर्ने प्रतिबद्धताको कार्यान्वयन, हानि तथा नोक्सानी कोषमा सहज पहुँच र अतिकम विकसित मुलुकलाई अनुदानमा आधारित वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिनुपर्छ।
सम्मेलनमा सन् २०३५ सम्म वार्षिक ३०० अर्ब अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने तथा १.३ ट्रिलियन डलर परिचालन गर्ने लक्ष्यबारे पनि छलफल भइरहेको छ। तर प्रतिबद्धता र वास्तविक वित्तीय प्रवाहबीचको अन्तर अझै चुनौतीका रूपमा रहेको विज्ञहरूको भनाइ छ।
युथ एलायन्स फर इन्भायरोमेन्टका कार्यकारी निर्देशक सनोत अधिकारीले हिमनदी पग्लिने, हिमताल विस्फोट, पहिरो र पानीका मुहान सुक्ने समस्यालाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा संस्थागत रूपमा स्थापित गर्नुपर्ने बताए। उनका अनुसार नेपालले आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३.०) कार्यान्वयनका लागि आवश्यक वित्त, प्रविधि र अन्तर्राष्ट्रिय सहयोगको विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्छ।
विज्ञहरूका अनुसार हिमाली मुद्दाले अन्तर्राष्ट्रिय बहसमा स्थान पाउनु सकारात्मक भए पनि जलवायु न्यायको वास्तविक उपलब्धि जोखिममा रहेका समुदायसम्म वित्तीय तथा प्राविधिक सहयोग पुग्न सकेपछि मात्रै सुनिश्चित हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special