काठमाडौं, मकवानपुरको भीमफेदीमा हिजो भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेको उपचार खर्च तथा मृतकका परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउन सरकारले पहल थालेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ।
मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम र घाइतेको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
यसैगरी, दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको कार्यालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special