नेपालीहरूको महान् चाड बडादशैं आज आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। पन्ध्र दिन मनाइने यस पर्वको पहिलो दिन आज देशभरका घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:४७ बजे घटस्थापनाको शुभ साइत तोकेको छ। परम्पराअनुसार पूजाकोठामा चोखो माटो र बालुवा राखिएको भाँडोमा कलश स्थापना गरी जौ, मकै वा गहुँको जमरा राखिन्छ। यस वर्ष विजयादशमीको मूल टीका कात्तिक ४ गते लगाइनेछ।


