नेपालको लुम्बिनी र कर्णाली प्रदेशलाई लक्षित गरी भारतबाट लागूऔषध खैरो हेरोइन भित्र्याउने गिरोहमाथि निगरानी राख्ने क्रममा प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरोको नेपालगन्ज शाखाबाट खटिएको टोलीले मंगलबार राति साढे १० बजेतिर नेपालगन्ज उपमहानगरपालिका-१४ मा यो कारबाही गरेको हो।
भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका ती व्यक्तिलाई शंका लागेर प्रहरीले रोक्न खोजेको थियो। तर, प्रहरीको इशारालाई बेवास्ता गर्दै उनले मोटरसाइकल हुइँकाएर भाग्ने प्रयास गरे। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा दुई राउन्ड हवाई फायर गरेको थियो। चेतावनीका बाबजुद पनि भाग्न नछोडेपछि प्रहरीले मोटरसाइकलको टायरलाई लक्षित गरी थप दुई राउन्ड गोली प्रहार गरेर उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला, रुपैडिया निवासी २४ वर्षीय नदिम राई रहेका छन्। उनको खानतलासी गर्दा १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट यूपी ४० जे ०६५७ नम्बरको भारतीय मोटरसाइकल र एउटा मोबाइल फोन समेत बरामद गरेको छ।
प्रहरीले राईलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार यति ठूलो परिमाणको खैरो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको जेल सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ।


