काठमाडौं, नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा सक्रिय रहेका जनप्रतिनिधिलाई पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुनेलाई कारबाही गरिने स्पष्ट पारे। उनले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी विधानको पालना गर्न आग्रह गरे।
विशेष महाधिवेशनमा सहभागी भए वा नभएको विषयभन्दा पनि कांग्रेसको सदस्यता कायम राखेर अर्को पार्टीको गतिविधिमा संलग्न हुने विषय महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
थापाले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने जिकिर गर्दै देउवा समूहले अघि बढाएको महाधिवेशन प्रक्रियालाई कांग्रेसको आधिकारिक अधिवेशन मान्न नसकिने बताए।
पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने उल्लेख गर्दै उनले त्यसको पनि निश्चित सीमा रहेको बताए। कांग्रेस छाडेर अर्को पार्टीको सदस्यता लिनेहरूलाई विधानअनुसार कारबाही गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।
देउवा समूहले अघि बढाएको महाधिवेशन प्रक्रियामा केही राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि सक्रिय छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special