काठमाडौं, नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा विवादले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय कूटनीतिक संवादमा सीमा मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
कांग्रेसले प्रधानमन्त्री बन्नुअघि भारतसँगको सीमा विवादबारे दिएका अभिव्यक्ति र भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गरेको छ। संयुक्त वक्तव्य जारी हुनुलाई मात्रै ऐतिहासिक उपलब्धि मान्न नसकिने भन्दै त्यसमा समेटिएका विषयवस्तु र राष्ट्रिय हितका आधारमा उपलब्धिको मूल्याङ्कन हुनुपर्ने जनाएको छ।
कांग्रेसले भ्रमणका क्रममा सीमा विवादबारे के-कस्तो छलफल भयो र आगामी दिनमा कुन संयन्त्रमार्फत कूटनीतिक पहल अघि बढाइन्छ भन्नेबारे संसद् र नागरिकलाई स्पष्ट पार्न माग गरेको छ।
भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति, बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई भने कांग्रेसले सकारात्मक रूपमा लिएको छ। तर, सहमति कार्यान्वयनको समयसीमा, विकास सहयोगको पारदर्शिता र सहुलियतपूर्ण ऋणका सर्तबारे सरकारले जानकारी दिनुपर्ने उसको माग छ।


NPL Special
NPL Special
NPL Special
NPL Special