काठमाडौं, नेपाल, भारत र भुटानमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि तीन देशबीच क्षेत्रीय सहकार्य र ज्ञान आदानप्रदानमा जोड दिइएको छ। स्थानीय आवश्यकता र भौगोलिक अवस्थाअनुसार दिगो समाधान खोज्नुपर्नेमा संरक्षणकर्मीहरूले जोड दिएका छन्।
भुटानको थिम्पुमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि दीर्घकालीन उपायबारे छलफल भएको हो। तीनै देशमा वन्यजन्तुको बासस्थान खण्डीकरण, प्राकृतिक बासस्थानमाथि बढ्दो दबाब र मानिससँगको द्वन्द्व साझा चुनौतीका रूपमा देखिएको सहभागीहरूले बताएका छन्।
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले संरक्षणका कार्यक्रम सञ्चालन गर्दा आदिवासी तथा स्थानीय समुदायको आवश्यकता, अनुभव र सहभागितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनले मानिस र ठूला मांसाहारी वन्यजन्तुबीचको द्वन्द्व कम गर्न गन्धमा आधारित अवरोधक प्रणालीको परीक्षण भइरहेको जानकारी दिएका छन्। विज्ञानमा आधारित यस्तो प्रविधिले परम्परागत उपायलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा संरक्षणका लागि दिगो वित्तीय स्रोत जुटाउने नवीन उपायबारे पनि छलफल भएको छ। भुटानले बाघ संरक्षणका लागि परीक्षण गरिरहेको ‘टाइगर इम्प्याक्ट सर्टिफिकेट’ पहललाई सम्भावनायुक्त उपायका रूपमा प्रस्तुत गरिएको छ।
सहभागीहरूले मानव–वन्यजन्तु द्वन्द्व राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती भएकाले तीन देशबीच सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special