काठमाडौं, प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ बाट ‘वेश्यावृत्ति’ शब्द हटाउने विषयमा बहस भएको छ। सांसदहरूले उक्त शब्दको सट्टा उपयुक्त कानुनी शब्दावली प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्ञानु पौडेलले ‘यौन शोषण गर्ने’ वा ‘इच्छाविपरीत यौन कार्यमा लगाउने’ जस्ता शब्द प्रयोग गर्न सुझाव दिइन्। उनले मानव बेचबिखनसम्बन्धी कानुनमा अङ्ग तस्करीलाई समेत समेट्नुपर्ने बताइन्।
नेकपा एमालेकी सांसद एसुदा बरालले शब्द परिवर्तन गर्दा कानुनी अस्पष्टता उत्पन्न भई पीडकले त्यसको लाभ लिन सक्ने भन्दै सचेत रहन आग्रह गरिन्। कांग्रेस सांसद रिना उप्रेतीले वेश्यावृत्ति, देहव्यापार र यौन शोषण फरक अर्थ बोकेका शब्द भएकाले थप अध्ययन आवश्यक रहेको बताइन्।
समिति सभापति आकृति अवस्थीले शब्दावलीका कारण कानुनी दोहोरो अर्थ लाग्न नहुनेमा जोड दिइन्। मन्त्री सीता वादीले पनि उपयुक्त विकल्प आए विधेयकमा समावेश गर्न मन्त्रालय तयार रहेको बताइन्।
उपयुक्त विकल्पमा सहमति जुट्न नसकेपछि समितिले उक्त दफा तत्काल पारित नगरी थप अध्ययन र छलफल गर्ने निर्णय गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special