काठमाडौं, नेपालले मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत थप ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ । यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण १ हजार १९८ मेगावाट पुगेको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नोभेम्बर १८ देखि सन् २०२७ जुन १४ सम्म विद्युत् बिक्री गर्न स्वीकृति दिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्वीकृत परिमाणमध्ये २०५ मेगावाट कटैया–कुशाहा तथा रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत र ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ ।
प्राधिकरणका अनुसार एनभीभीएनमार्फत ३८९ र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् बिक्री गर्न अनुमति प्राप्त भएको हो । यसबाहेक सेती खोला जलविद्युत् आयोजनाको थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि भारतले स्वीकृति दिएको छ ।
प्राधिकरणले वर्षायाममा बढी हुने विद्युत् आईएक्सको डेअहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special