काठमाडौं, धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए ।
खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो ।
संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परालाई नजिकबाट नियाल्ने अवसर पाए । हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो । केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए ।
पदयात्राका लागि नेपाल आएका इङ्ल्यान्डका पर्यटक मार्कलेदाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
“म दुई हप्ताका लागि नेपाल आएको हुँ । पदयात्रामा जाने योजना छ । हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो ।
महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए।
महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषकलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्दै कृषि पर्यटनको विकासमा योगदान पुर्याउने उनको भनाइ छ ।
महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मानसमेत गरिएको थियो ।


NPL Special
NPL Special
NPL Special
NPL Special