काठमाडौं, नेपाल–चीन जोड्ने छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा व्यवसायी तथा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा सहभागीले नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका हुन्।
२०७२ सालको भूकम्पपछि पटकपटक अवरुद्ध हुँदै आएको नाका नियमित सञ्चालनमा नआउँदा व्यापार व्यवसाय प्रभावित भएको र व्यवसायी पेसाबाटै पलायन हुन थालेको उनीहरूको भनाइ छ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले सरकारले उच्चस्तरीय पहल नगरे व्यवसायीले तातोपानीबाट व्यापार गर्न नसक्ने अवस्था आउने बताए।
व्यवसायीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्न, आवश्यक परे सरकारी प्रतिनिधिमण्डल पठाउन तथा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र चीनस्थित नेपाली राजदूतमार्फत पहल गर्न सुझाव दिएका छन्।
त्यस्तै, नाका क्षेत्रको पहिरो नियन्त्रण, सडक स्तरोन्नति र सरकारी तहमा वार्ता गर्नुपर्नेमा जोड दिइएको छ। नाकाको अनिश्चितताले स्थानीय व्यवसाय मात्र नभई राष्ट्रिय आपूर्ति प्रणालीमा समेत असर पार्ने सरोकारवालाको चिन्ता छ। सांसद पराजुलीले सरोकारवालाको आवाज सरकारसमक्ष पुर्याउन कार्यक्रम आयोजना गरिएको बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special