अमेरिकाको न्यूयोर्क र फिलाडेल्फिया क्षेत्रका व्यस्त विमानस्थलहरूमा प्राविधिक समस्या उत्पन्न हुँदा हवाई यातायात नराम्ररी प्रभावित भएको छ। फिलाडेल्फियास्थित हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा आएको खराबीका कारण नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ६०० भन्दा बढी उडानहरू रद्द गरिए। यस्तै, फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २०० भन्दा बढी उडानहरू रोकिएका थिए, जसले गर्दा हजारौं यात्रुहरू मर्कामा परेका छन्।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार, मुख्य सञ्चार लाइनमा समस्या देखिएपछि प्रयोग गरिने ब्याकअप फाइबर अप्टिक लाइन पनि निर्माण कार्यका क्रममा काटिएपछि यो संकट निम्तिएको हो। यस दोहोरो अवरोधका कारण हवाई ट्राफिक नियन्त्रकहरूले केही समयका लागि राडार र सञ्चार प्रणालीमा पहुँच गुमाउनु परेको थियो। फ्लाइटराडार२४ को तथ्याङ्क अनुसार नेवार्क विमानस्थलमा स्थानीय समय अनुसार बिहान ९:४० देखि साँझ ५:२० सम्म कुनै पनि व्यावसायिक जहाज अवतरण हुन सकेनन्।
यस समस्याको असर न्यूयोर्कका लागाार्डिया र जेएफके विमानस्थलहरूमा पनि परेको थियो। यातायात सचिव शन डफीले सोमबार साँझसम्म सञ्चार लाइन मर्मत भइसकेको र उडानहरू पुनः सुचारु भएको जानकारी दिएका छन्। यद्यपि, उडान तालिकालाई पूर्ण रूपमा पुरानै अवस्थामा फर्काउन अझै केही समय लाग्ने उनले बताए। एफएएले यात्रुहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न विशेष आग्रह गरेको छ।

