काठमाडौं, सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले असोज मसान्तसम्म उक्त रकम भुक्तानी गरेको हो।
सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ। यसअनुसार तीन महिनामै वार्षिक विनियोजित बजेटको उल्लेख्य हिस्सा ऋण भुक्तानीमा खर्च भएको छ।
कार्यालयका अनुसार असोज मसान्तसम्म मुलुकको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यसमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ४६ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ।
सार्वजनिक ऋणमार्फत सरकारले विकास आयोजना तथा सरकारी खर्च व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापनअन्तर्गत ऋण उठाउने, सरकारी जमानी दिने, ऋण चुक्ता गर्ने तथा पुनर्संरचना गर्ने कार्य पर्दछन्।
आन्तरिक ऋणलाई अल्पकालीन स्रोतका रूपमा लिइन्छ। यसअन्तर्गत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र पर्छन्। त्यस्तै, दीर्घकालीन स्रोतका रूपमा लिइने वैदेशिक ऋण विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय संस्था तथा विदेशी सरकारबाट प्राप्त हुने गरेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणको लागत र वित्तीय जोखिम घटाउँदै सरकारी ऋण दायित्वलाई दिगो रूपमा व्यवस्थापन गर्ने काम गर्दै आएको जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special