काठमाडौं, वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन्। यसको केन्द्रमा रहेको विशाल ब्ल्याक होलले प्रारम्भिक ब्रह्माण्डमा आकाशगङ्गा र ब्ल्याक होलको विकासबारे नयाँ जानकारी दिएको छ।
जर्मनीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले युरोपेली अन्तरिक्ष एजेन्सीको युक्लिड टेलिस्कोपबाट सङ्कलित लाखौँ अवलोकन विश्लेषण गर्ने क्रममा उक्त क्वासर फेला पारेको हो। अनुसन्धानकर्ता जुलियन वुल्फका अनुसार यस खोजले यसअघिको अभिलेखभन्दा करिब चार करोड वर्ष पुरानो समयको क्वासर पहिचान गरेको छ।
वैज्ञानिकहरूले आयरल्यान्डको प्रागैतिहासिक ढुङ्गे किल्ला डन ओङ्हासाको नामबाट यसलाई नामकरण गरेका छन्। हबल र जेम्स वेब अन्तरिक्ष दूरबिनबाट समेत यसको पुष्टि भएको छ।
अध्ययनअनुसार क्वासरको केन्द्रमा रहेको ब्ल्याक होलको द्रव्यमान सूर्यको भन्दा करिब ३६ करोड गुणा बढी छ। ब्रह्माण्डको प्रारम्भिक चरणमै ब्ल्याक होल यति विशाल कसरी बन्यो भन्ने विषय वैज्ञानिकका लागि चासोको विषय बनेको छ।
अध्ययनको निष्कर्ष ‘एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित भएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special