काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।
अनुमतिअनुसार प्राधिकरणले आगामी नोभेम्बर १७ देखि सन् २०२७ जुलाई ३१ सम्म विद्युत् आयात गर्न सक्नेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन।
कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले यसबाट हिउँदयामको माग र आपूर्ति व्यवस्थापन सहज हुने बताए। जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट उत्पादन प्रणालीबाट विच्छेद भएको छ।
यसैबीच, प्राधिकरणले तीन आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतको ऊर्जा विनिमय बजारमा निर्यात गर्नसमेत अनुमति पाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special