काठमाडौं, निरोशन डिकवेलाको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। डिकवेलाले ३७ बलमा सात चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए। कप्तान रोहित पौडेलले २१ तथा दिलीप नाथले अविजित १० रन जोडे।
यससँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ। दुई पटकको उपविजेता सुदूरपश्चिमले पराजित भए पनि फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ। उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए भने इशान पाण्डेले २७ रन जोडे। लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले दुई–दुई विकेट लिए।


NPL Special
NPL Special
NPL Special
NPL Special