काठमाडौं, पुराना तथा प्रयोगविहीन कपडाबाट तयार पारिएका पहिरनमा युवायुवतीले क्याटवाक गर्दा पोखरामा सुरु भएको ‘आरयू फेस्ट–२०२६’को उद्घाटन समारोह आकर्षक बनेको छ। पुनःप्रयोग गरिएका कपडा तथा अन्य सामग्रीबाट बनाइएका पहिरन र सामग्री प्रदर्शन गरिएको अपसाइकल फेसन शोले दर्शकको ध्यान खिचेको थियो।
पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत सुरु भएको महोत्सव बिहीबारसम्म सञ्चालन हुनेछ। मेलामा फेसन शो, नाटक, उत्पादन प्रदर्शनी तथा बिक्री, दौड, कला प्रस्तुति र कार्यशालालगायत कार्यक्रम राखिएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहरलाई समस्याका रूपमा मात्र नभई आर्थिक, सामाजिक र वातावरणीय सम्भावना बोकेको स्रोतका रूपमा हेर्नुपर्ने बताएका छन्। पुनःप्रयोग र प्रशोधनमार्फत नयाँ उत्पादन तथा रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यमलाई बजार र बिक्रीका अवसर उपलब्ध गराउन महोत्सव आयोजना गरिएको बताएका छन्।
दोस्रो संस्करणको महोत्सवमा रिसाइक्लिङ तथा अपसाइक्लिङसँग सम्बन्धित उद्यमका ४२ वटा प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन्। महोत्सवले हरित रोजगारी, स्थानीय उद्यमशीलता र चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।


NPL Special
NPL Special
NPL Special
NPL Special