काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न सांसदहरूले माग गरेका छन्। बिहीबार महिला तथा सामाजिक मामिला समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा सांसदहरूले उक्त शब्दले विशेषगरी महिलालाई सामाजिक कलंक र विभेदको सिकार बनाउने बताएका छन्।
सांसदहरूले ‘जबर्जस्ती यौन व्यवसाय’, ‘देहव्यापार’ र ‘यौनशोषण’ जस्ता वैकल्पिक शब्द प्रयोग गर्न प्रस्ताव गरेका छन्। इन्दिरा रानामगर, मनमाया विश्वकर्मा, गणेशबहादुर विश्वकर्मा, पार्वती बिक र भूमिका श्रेष्ठले शब्दावली परिवर्तनका लागि संशोधन प्रस्ताव राखेका हुन्।
त्यसैगरी, विधेयकमा बालबालिकामाथि हुने श्रमशोषण, बाध्यकारी श्रम, दासता तथा विभिन्न सामाजिक कुप्रथाबाट हुने शोषणलाई स्पष्ट रूपमा समेट्नुपर्ने सांसदहरूको माग छ। कमैया, कमलरी, हलिया र हरवाचरवा प्रथाबाट हुने श्रमशोषणलाई समेत कानुनी परिभाषामा समावेश गर्न उनीहरूले जोड दिएका छन्। साथै, स्वेच्छाले यौन व्यवसायमा संलग्न हुने अवस्था र जबर्जस्ती यौनशोषणमा पारिने अवस्थालाई कानुनले छुट्टाछुट्टै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special