काठमाडौं, टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालको सक्रिय कूटनीतिक पहलपछि सम्मेलनको मस्यौदा निर्णयमा पर्वतीय कार्ययोजना, कोपको स्थायी कार्यसूची, उच्चस्तरीय राजनीतिक संवाद र वार्षिक पर्वत तथा जलवायु परिवर्तन संवाद समावेश भएका छन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका मन्त्रीहरूसँग द्विपक्षीय छलफल गर्दै पर्वतीय मुद्दामा समर्थन जुटाएको हो। नेपाल र भुटानले संयुक्त रूपमा पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव अघि सारेका थिए।
जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोट, बाढी र पहिरोजस्ता जोखिम बढ्दै गएको अवस्थामा पर्वतीय समुदायका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्तामा संस्थागत रूपमा समेट्ने नेपालको प्रयास रहेको छ।
मस्यौदामा समावेश विषय अन्तिम निर्णयमा पारित भएमा यसले पर्वतीय मुलुकको जलवायु सरोकारलाई अन्तर्राष्ट्रियस्तरमा दीर्घकालीन नीतिगत आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। यद्यपि, अन्तिम निर्णयमा उक्त व्यवस्था कायम राख्नु चुनौतीपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special