काठमाडौं, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन्। उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
शान्ति सम्झौताको २० वर्ष पूरा भएको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै प्रचण्डले २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र र गणतन्त्रको दिशामा अघि बढाएको उल्लेख गरेका छन्।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले यसलाई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको दस्तावेज बताएका छन्।
शान्ति सम्झौताकै आधारमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान निर्माण सम्भव भएको उनको भनाइ छ।
तर संक्रमणकालीन न्यायका काम अझै अधुरा रहेको उल्लेख गर्दै उनले द्वन्द्वपीडितलाई न्याय, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक तथा सत्य निरुपण र मेलमिलापका बाँकी काम तत्काल पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special