काठमाडौं, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्मेलनका उच्चस्तरीय बैठकमा नेपालको तर्फबाट विशेषगरी हिमाली तथा पर्वतीय मुलुकका जलवायु एजेन्डा स्थापित गर्न प्रयास गरिएको बताए। यस वर्षको सम्मेलनले पर्वतीय मुलुकका सरोकारलाई सम्बोधन गर्नेमा आफूहरू आशावादी रहेको उनको भनाइ थियो।
सम्मेलनमा मन्त्री खनालले ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्न तथा जलवायु वित्त र अनुकूलनका योजनामा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्न जोड दिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालले भुटान, किर्गिस्तान, इसिमोड र जोइ इनभाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना गरेको थियो।
सम्मेलनमा नेपालले जलवायु न्याय, हानि तथा नोक्सानी सम्बोधन, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन, प्रविधि हस्तान्तरण, पूर्वसूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा समेत आफ्नो धारणा प्रस्तुत गरेको मन्त्रालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special