काठमाडौं, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्ने काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण काममा ढिलाइ भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जनाएको छ।
आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गत शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहाड काट्ने काम भइरहेको छ। कुनै समस्या नआए आगामी तीन दिनभित्र काम सक्ने लक्ष्य राखिएको उनले बताए।
हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर माथिबाट स्काभेटरमार्फत जोखिमपूर्ण भाग हटाउने र तल सडक सफा गर्ने काम भइरहेको छ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट करिब १०० मिटर माथि मेसिन पुर्याएर पहाड काट्नुपर्ने भएकाले काम जोखिमपूर्ण र ढिलो भएको हो। मंगलबार माथिबाट ढिस्को खस्दा स्काभेटर पुरिएको थियो। पहिरो पन्छाएर पुनः काम सुरु गरिएको छ।
यसैबीच, सडक बन्द हुने समयको उपयोग गर्दै चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा पनि सडक चौडा पार्ने काम भइरहेको छ। करिब १०० मिटर क्षेत्रमा सडक दुई मिटर चौडा बनाउन स्काभेटर र लोडर परिचालन गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special