काठमाडौं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पस तथा कलेजले अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।
त्रिवि उपकुलपतिको कार्यालयले मंसिर ९ गते सूचना जारी गर्दै सम्बन्धन प्राप्त सबै क्याम्पस तथा कलेजलाई मंसिर १५ गतेभित्र आधिकारिक स्वघोषणापत्र पठाउन निर्देशन दिएको हो।
त्रिवि कार्यकारी परिषद्को कात्तिक २१ गतेको निर्णयअनुसार नयाँ विषय, शैक्षिक कार्यक्रम, सेक्सन तथा कोटा थप गर्ने प्रयोजनका लागि यस्तो व्यवस्था गरिएको हो।
त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ।
सोही प्रावधान कार्यान्वयनका लागि विश्वविद्यालयले स्वघोषणापत्र माग गरेको हो। क्याम्पस तथा कलेजले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा अन्य कुनै स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन नगरेको व्यहोरा खुलाउनुपर्नेछ।
स्वघोषणापत्र पीडीएफ फर्म्याटमा तयार गरी तोकिएको समयभित्र त्रिविको इमेल ठेगानामा पठाउनुपर्ने सूचनामा उल्लेख छ।


NPL Special
NPL Special
NPL Special
NPL Special