काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौनहिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार गर्न सरोकारवालाले माग गरेका छन्। महिला, कानुन र विकास मञ्च तथा इक्विलिटी नाउले संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा विधेयकका विभिन्न प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिइएको हो।
मञ्चकी अधिवक्ता दिदीक्षा सिंहले प्रस्तावित विधेयकमा मुख्यतः पाँच विषयमा सुधार आवश्यक रहेको बताइन्। उनका अनुसार जबरजस्तीकरणीको परिभाषा, सहमतिको व्याख्या, नजिकको उमेर समूहबीचको यौन सम्बन्धसम्बन्धी अपवाद, वैवाहिक बलात्कार र हदम्यादका प्रावधान संशोधन गर्नुपर्छ।
मञ्चले जबरजस्तीकरणीको परिभाषामा लिङ्ग तथा लैङ्गिक पहिचानका आधारमा भेदभाव नगरी सबै व्यक्तिलाई समान कानुनी संरक्षण दिनुपर्ने सुझाव दिएको छ। त्यस्तै, सहमतिलाई स्वेच्छिक र स्वतन्त्र इच्छाबाट दिइएको स्पष्ट स्वीकृतिका रूपमा परिभाषित गर्नुपर्ने तथा मौनता, प्रतिवादको अभाव वा विगतको यौन इतिहासका आधारमा सहमति अनुमान गर्न नहुने जनाएको छ।
त्यसैगरी, १८ वर्षमुनिका किशोरकिशोरीबीच दुई वर्ष वा सोभन्दा कम उमेर अन्तरमा सहमतिमा भएको यौन सम्बन्धका लागि छुट्टै कानुनी व्यवस्था गर्न सुझाव दिइएको छ। दुवै पक्ष कम्तीमा १४ वर्ष पुगेको अवस्थामा यस्तो सम्बन्धलाई अपराधीकरण नगर्नुपर्ने प्रस्ताव गरिएको छ। तर डर, धम्की, शोषण वा शक्तिको दुरुपयोग भएका घटनालाई यसबाट अलग राख्नुपर्ने उल्लेख छ।
वैवाहिक बलात्कारमा वैवाहिक अवस्थाका आधारमा फरक सजाय नहुने गरी अन्य बलात्कारसरह समान दण्डको व्यवस्था गर्नुपर्ने र बलात्कारसम्बन्धी अपराधमा हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने मञ्चको माग छ।
कार्यक्रममा इक्विलिटी नाउकी दक्षिण एसिया क्षेत्रीय सञ्चार अधिकृत आकांक्षा सक्सेनाले कानुन निर्माणसँगै प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन्। मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले प्रस्तावित पाँच विषयमा संशोधन भए पीडितलाई उजुरी गर्न र न्याय प्राप्त गर्न सहज हुने धारणा राखे।


NPL Special
NPL Special
NPL Special
NPL Special