मुग्लिन, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम सम्पन्न भएपछि यातायात आवागमन सहज भएको हो।
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम गरिएको थियो। सडक सञ्चालनमा आए पनि घोप्टेभिरमा सवारी व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरी टोली खटिइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
घोप्टेभिरमा सडक खुलेसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा र मुग्लिन–काठमाडौँ खण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन्। तर, नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउनुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन रोकिनेछ। यसबाट दिउँसो चितवन हुँदै काठमाडौँ र पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special