काठमाडौं, प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनमा सुधार गरी पीडकलाई कठोर सजायको व्यवस्था गर्नुपर्ने बताएका छन्। सरकारले प्रस्ताव गरेको मुलुकी अपराध संहिता, २०७४ संशोधन विधेयकले पनि यौन हिंसाका सबै विषय समेट्न नसकेको उनीहरूको भनाइ छ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सांसदहरूले कानुनी व्यवस्था पर्याप्त नभएको औँल्याएका हुन्।
कांग्रेस सांसद रेखाकुमारी यादवले यौन हिंसाका दोषीलाई दिइने सजाय प्रभावकारी बनाउनुपर्ने बताइन्। राप्रपा सांसद सरस्वती लामाले यस्ता अपराधका दोषीलाई अन्य अपराधीसरह नभई विशेष सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले मृत्युदण्डको व्यवस्था हुनुपर्ने बताए पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण नेपालमा यस्तो कानुन सम्भव नभएको उल्लेख गरिन्। एमाले सचेतक नीता घतानीले बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय अभ्याससमेत समेटेर कानुन बनाउनुपर्ने बताइन्।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा भएका कुल अपराधमध्ये २९ प्रतिशत लैंगिक हिंसासम्बन्धी थिए। ती घटनाका ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति थिए भने ६२.४ प्रतिशत पीडित बालिका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special