काठमाडौं, विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ। यसको अर्थ औसतमा हरेक घण्टा पाँच महिला तथा बालिका आफन्त वा नजिकका व्यक्तिबाट मारिएका छन्।
संयुक्त राष्ट्रसङ्घीय महिला संस्था र लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष जानाजानी हत्या गरिएका ७८ हजार महिला तथा बालिकामध्ये करिब ६० प्रतिशतको हत्या निजी तथा पारिवारिक परिवेशमा भएको थियो। दैनिक औसत १२९ महिला तथा बालिकाले ज्यान गुमाएका थिए।
१२२ देश तथा क्षेत्रका तथ्याङ्कमा आधारित प्रतिवेदनअनुसार अफ्रिकामा सबैभन्दा बढी २२ हजार १०० महिला तथा बालिकाको हत्या भएको छ। एसियामा १५ हजार १००, अमेरिकामा सात हजार ४००, युरोपमा दुई हजार १०० र ओसिनियामा ३०० जनाले ज्यान गुमाएका छन्।
प्रतिवेदनले लैङ्गिक विभेद, रूढिवादी सामाजिक मान्यता र न्यायमा पहुँचको अभावलाई यस्ता अपराध नियन्त्रणका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। साथै, महिला हत्याको दर घट्ने गति सुस्त रहेको र घरेलु हिंसा रोक्ने प्रयास परिवारका सबै सम्बन्धमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special