म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ । पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गत आर्थिक वर्ष २०८२/ ०८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।
“दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दुरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र गरिएको छ,” उनले भने, “दरवाङमा वि.स. २०६४ मा सडक सञ्जालमा जोडिएको थियो ।”
करिब रु. एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु. एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।
सडक बिस्तार र कालोपत्र भएपछि सवारी साधन आवत जावत सहज भएको छ ।


