काठमाडौं, धनकुटाको तमोर नदी किनारको बलौटे बगरमा व्यावसायिक खेती सम्भव छैन भन्ने मान्यतालाई चुनौती दिँदै धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीले कृषि उद्यमबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। बालुवा र ढुङ्गाले भरिएको, सिँचाइको पर्याप्त सुविधा नभएको जमिनलाई उपयोग गर्दै उनले ड्रागन फ्रुटसहित विभिन्न फलफूल तथा तरकारी खेती विस्तार गरेका छन्। उनको कृषि उद्यमबाट अहिले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।
तीन वर्षअघि भण्डारीले तमोर नदीको बगरमा करिब पाँच रोपनी क्षेत्रफलमा ३०० वटा ड्रागन फ्रुटका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गरेका थिए। सुक्खा तथा बलौटे जमिनमा समेत उत्पादन लिन सकिने सम्भावना देखेपछि उनले परम्परागत खेतीभन्दा फरक बाली छनोट गरेका हुन्। सुरुमा नयाँ बाली भएकाले उत्पादन र बजार दुवैमा चुनौती रहे पनि उत्पादन सुरु भएपछि बजारमा राम्रो माग देखिएको उनले बताए। त्यसपछि खेती विस्तार गर्दै अहिले ड्रागन फ्रुट खेती करिब नौ रोपनी क्षेत्रमा पुर्याएका छन्।
सुरुका दिनमा ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री भएको थियो। अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म मूल्य पाइरहेको भण्डारीले बताए। उत्पादन खरिद गर्न ग्राहक तथा व्यापारीहरू बगानमै आउने गरेका छन्। यसले बजार खोज्दै विभिन्न स्थानमा पुग्नुपर्ने समस्या कम गरेको छ।
ड्रागन फ्रुट खेतीबाट प्राप्त सफलतापछि उनले एउटै बालीमा निर्भर नभई बहुबाली खेतीलाई प्राथमिकता दिएका छन्। हाल करिब पाँच रोपनीमा ५०० बोट एप्पल बयर र १५ रोपनी क्षेत्रमा स्थानीय मालभोग जातको केरा खेती गरेका छन्। यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन्। त्यसैगरी म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत विस्तार गरेका छन्।
विभिन्न समयमा उत्पादन दिने बाली छनोट गर्दा वर्षभरि आम्दानीको सम्भावना रहने र एउटै बालीमा उत्पादन घट्दा हुने आर्थिक जोखिम कम गर्न सकिने उनको बुझाइ छ। एप्पल बयर, म्याकाडेमिया र एभोकाडोलगायत नयाँ लगाइएका बालीले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने अपेक्षा उनले गरेका छन्। यसअघि करेला खेतीको अनुभवसमेत लिएका भण्डारीले बढी मेहनत र बजार व्यवस्थापनको समस्याका कारण त्यसबाट अपेक्षित आम्दानी लिन नसकेको बताए।
तमोरको बगरमा खेती विस्तार गर्दा सिँचाइ व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ। बलौटे जमिनमा पानी टिकाउन कठिन हुने भएकाले नियमित सिँचाइको व्यवस्था आवश्यक पर्छ। यसका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहकार्यमा सिँचाइ पोखरी निर्माण गरिएको छ। उक्त सहयोगले खेतीका लागि आवश्यक पानी व्यवस्थापन गर्न सहज भएको छ। सोही सहकार्यमा केरा खेती विस्तारमा पनि सहयोग पुगेको भण्डारीले बताए।
उनको कृषि उद्यमले स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ। रोजगारीका लागि गाउँ छाड्नुपर्ने बाध्यता रहेका युवालाई आफ्नै ठाउँमा कृषि व्यवसायमार्फत अवसर दिन सकिने उनको अनुभव छ।
धनकुटामा पछिल्लो समय कम पानी हुने तथा सुक्खाग्रस्त क्षेत्रमा पनि ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ। परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले वैकल्पिक खेतीका रूपमा ड्रागन फ्रुट रोज्न थालेका छन्।
कृषि ज्ञान केन्द्र धनकुटाले जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा समेत व्यावसायिक खेती गर्न सकिने जनाएको छ। केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई विशेषज्ञ सेवा तथा प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्षदेखि अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको केन्द्रका प्रमुख नगेन्द्र राना मगरले बताए।
हालको कृषि व्यवसायलाई थप विस्तार गर्दै आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार पुर्याउने भण्डारीको लक्ष्य छ। त्यसका लागि उनले विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तार गर्नुका साथै बजारको सम्भावनासमेत पहिचान गरिरहेका छन्। उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको मागलाई ध्यान दिन सके कम उर्वर जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने उनको प्रयासले देखाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special