काठमाडौं, नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्रभावकारी सामना गर्न वैज्ञानिक प्रमाणलाई नीति निर्माण र सरकारी योजनाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिएको छ।
कोप–३१ अन्तर्गत जलवायु विज्ञानसम्बन्धी उच्चस्तरीय कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु विज्ञानलाई निर्णय प्रक्रियामा सुरुदेखि नै समावेश गर्नुपर्ने बताएकी छन्। उनले वैज्ञानिक निष्कर्ष र सरकारी योजना निर्माणबीचको अन्तरले जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनमा चुनौती थपेको उल्लेख गरिन्।
गत अगस्ट २६ मा भोटेकोशी क्षेत्रमा आएको बाढीलाई जलवायु जोखिमको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले हिमाली क्षेत्रले सरकारी योजना र वैज्ञानिक मूल्याङ्कनको प्रक्रियालाई पर्खिन नसक्ने बताइन्।
मन्त्री चौधरीका अनुसार जलवायु परिवर्तनले तापीय तनाव, सुक्खापन, कृषि उत्पादनमा ह्रास, जैविक प्रणालीमा परिवर्तन तथा डेङ्गी र औँलो जस्ता रोगको जोखिम बढाएको छ। यसको प्रभाव किसान, महिला, बालबालिका र विपन्न समुदायमा बढी परेको उनको भनाइ छ।
उनले नेपालका लागि तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नु अपरिहार्य रहेको बताउँदै जलवायु विपद्बाट हुने आर्थिकसँगै सांस्कृतिक, सामाजिक र अन्य गैरआर्थिक क्षतिको पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन्। वैज्ञानिक अनुसन्धान पारदर्शी, समावेशी र नैतिक हुनुपर्ने उल्लेख गर्दै उनले सरकार र वैज्ञानिक समुदाय दुवैलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुन आग्रह गरिन्।


NPL Special
NPL Special
NPL Special
NPL Special