काठमाडौं, मेडिकल शिक्षा क्षेत्रको सुधार तथा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताबारे समीक्षा गरिएको हो ।
बैठकमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।
त्यसैगरी, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने स्पष्ट पार्नुभयो ।
बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीलगायतले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि र प्रभावकारी समन्वयमा जोड दिनुभएको थियो । आयोगका उपाध्यक्ष खत्रीले गुणस्तर सुधार र परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न आयोगले काम गरिरहेको जानकारी दिनुभयो ।


NPL Special
NPL Special
NPL Special
NPL Special