काठमाडौं, सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन बोलाउने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन्।
प्रधानमन्त्री वालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले अधिवेशन आह्वानको मिति तत्काल निश्चित गर्न नसकिएको उनले बताएकी छन्।
सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै कानुन संशोधन, नयाँ कानुन निर्माण तथा आवश्यक अध्यादेशबारे गृहकार्य अघि बढाएको छ। सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ।
यसैबीच, संसद् सचिवालयले पनि अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ। नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्षको भौतिक पूर्वाधार तयार भए पनि प्रत्यक्ष प्रसारण, अडियो–भिडियो प्रणालीलगायत प्राविधिक काम पूरा हुन बाँकी छन्।
हाल प्रतिनिधिसभामा २४ वटा विधेयक विचाराधीन छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमार्फत विधेयकमाथि व्यापक छलफल र अध्ययन गर्ने तयारी गरेको छ।
यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलले संसद् अधिवेशन तत्काल आह्वान गर्न माग गर्दै आएका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जनसरोकारका विषय उठाउन र कानुन निर्माणलाई गति दिन संसद् छिट्टै सञ्चालन गर्नुपर्ने बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special