काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ताको तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सका अनुसार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दक्षिणी चिनियाँ सहर सेन्जेनमा तीन नेताबीच बैठक हुनेछ। यो तीनै नेताको पहिलो संयुक्त भेटवार्ता हुनेछ।
बैठकमा आणविक हतियारको सङ्ख्या घटाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विश्वका प्रमुख आणविक शक्ति राष्ट्रका नेताबीच इरानको विषयले पनि प्राथमिकता पाउन सक्ने बताइएको छ। यद्यपि, युक्रेन युद्धबारे छलफल नहुने जनाइएको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीले बैठकबाट कुनै ठोस सम्झौता हुने अपेक्षा नरहेको बताएका छन्। रुस र चीनले भने प्रस्तावित भेटवार्ताबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यसअघि बिहीबार ट्रम्प र सीबीच छुट्टै द्विपक्षीय बैठक हुने कार्यक्रम छ। २१ सदस्य राष्ट्र सहभागी दुईदिने एपेक शिखर सम्मेलनमा भाग लिन ट्रम्प बुधबार अबेर सेन्जेन पुग्नेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special