काठमाडौं, साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गरेको हो।
सुदूरपश्चिमको जितमा जर्ज मुन्से नायक बने। उनले ५४ बलमा आठ चौका र १२ छक्काको मद्दतमा अविजित १२५ रन बनाए। यो जारी एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोर हो। विनोद भण्डारीले २७ बलमा तीन चौकासहित अविजित ३० रन बनाए। दुवैले पहिलो विकेटका लागि १५८ रनको साझेदारी गरे।
यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेल्लाले २८ र डार्सी सर्टले २१ रन बनाए। दिलिप नाथ ३९ रनमा अविजित रहे।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला दुई फाइनलको हारको शृङ्खला तोडेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बन्न सफल भएको हो। यससँगै एनपीएलका तीनै संस्करणमा फरक–फरक टोलीले उपाधि जितेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special