काठमाडौं, अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण शुक्रबार देशभर जारी गरेको हवाई उडान रोक हटाएको छ। यातायातमन्त्री सन डफीले शुक्रबार राति ८ः१५ बजे (स्थानीय समय) प्रतिबन्ध हटाइएको जानकारी दिएका छन्।
एफएएका विभिन्न हवाई यातायात नियन्त्रण केन्द्रमा दूरसञ्चार तथा राडार प्रणालीमा अस्थिरता देखिएपछि सुरक्षा सावधानीका रूपमा उडान रोकिएको थियो। घटनाका कारण १५ हजारभन्दा बढी उडान प्रभावित भएका छन् भने हजारौँ उडान रद्द तथा ढिला भएका छन्।
डफीका अनुसार पुरानो हवाई यातायात नियन्त्रण प्रणालीका राउटरमा अत्यधिक तथ्याङ्कको भार परेपछि सञ्चारमा अवरोध आएको हो। उनले प्रणाली आधुनिकीकरणका लागि ५० अर्ब अमेरिकी डलर आपत्कालीन बजेट आवश्यक रहेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले घटनामा साइबर आक्रमण वा नियोजित गतिविधिको सङ्केत नरहेको बताएका छन्। उडान प्रतिबन्ध हटे पनि विमान तथा चालकदलको व्यवस्थापनका कारण शनिबारसम्म उडानमा ढिलाइ र अवरोध जारी रहन सक्ने चेतावनी दिइएको छ। यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझ्न आग्रह गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special