काठमाडौं, एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका विभिन्न सहर बाढीको चपेटामा परेका छन्। बाढीका कारण पेरुमा हजारौँ परिवार प्रभावित भएका छन् भने इक्वेडरमा ३४ जनाको मृत्यु भएको छ। त्यहाँ ४७ हजारभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन्।
उत्तरी पेरुको पिउरा सहरमा बिहीबारदेखि लगातार १२ घण्टासम्म परेको वर्षाले सडकमा कम्मरसम्म पानी जमेको छ। राष्ट्रिय नागरिक सुरक्षा संस्थानका प्रमुख लुइस भास्केजका अनुसार प्रारम्भिक विवरणमा करिब दुई हजार परिवार प्रभावित भएका छन्। बाढीले घरका सामान नष्ट गर्नुका साथै स्थानीयको जनजीवन प्रभावित पारेको छ।
बाढीका कारण पेरुका राष्ट्रपति केइको फुजिमोरीले कोलम्बिया भ्रमण स्थगित गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको भ्रमण गर्ने तयारी गर्नुभएको छ। स्थानीय बासिन्दाले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारी नगरेको भन्दै अधिकारीहरूको आलोचना गरेका छन्।
इक्वेडरको जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय सचिवालयका अनुसार एल निनोसँग सम्बन्धित भारी वर्षाका कारण ३४ जनाको मृत्यु भएको छ भने ४७ हजार जना प्रभावित भएका छन्। पश्चिमी सहर मान्टामा दुई नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि स्थानीय छातीसम्म डुब्ने पानीमा हिँड्न बाध्य भएका छन्। बाढीले घरका फर्निचर, लत्ताकपडा र विद्युतीय उपकरणमा क्षति पुर्याएको छ।
एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढ्ने प्राकृतिक जलवायु घटना हो। यसले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ। यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशालीमध्ये एक हुने अनुमान गरिएको छ। यसको प्रभावका कारण पेरु, इक्वेडरसहित ल्याटिन अमेरिकाका केही देशले राष्ट्रिय आपत्काल घोषणा गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special