अन्ताल्या, टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुईवर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ। यससँगै हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले पहिलोपटक विश्व जलवायु वार्तामा छुट्टै औपचारिक स्थान पाउने भएका छन्।
सम्मेलनमा भएको सहमतिअनुसार संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका सहायक निकायमार्फत कार्यक्रम सञ्चालन हुनेछ। यसले जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्याङ्क सङ्कलन, वैज्ञानिक अवलोकन तथा पूर्वसूचना प्रणाली सुदृढीकरणमा जोड दिनेछ।
साथै आगामी बैठकहरूमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेष संवाद आयोजना गरिनेछ। त्यसको निष्कर्षसहितको प्रतिवेदन कोप–३३ मा पेस गर्ने प्रस्ताव छ।
नेपालले वर्षौंदेखि उठाउँदै आएको हिमालको मुद्दाले अन्तर्राष्ट्रिय मान्यता पाउनु महत्वपूर्ण उपलब्धि भएको वन मन्त्रालयले जनाएको छ। नेपाल, भुटान र किर्गिज गणतन्त्रले संयुक्त रूपमा प्रस्ताव अघि बढाएका थिए।
वनमन्त्री गीता चौधरी र परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले निरन्तर कूटनीतिक पैरवी गरेको थियो। सहमति औपचारिक रूपमा कोप–३१ को समापन बैठकबाट पारित हुन भने बाँकी छ।


NPL Special
NPL Special
NPL Special
NPL Special