काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार दुईदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुग्दैछन्। उनको स्वागतका लागि दिल्लीका मुख्य सडकमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर सजावट गरिएको छ।
प्रधानमन्त्री शाहको यो भ्रमण विगतका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा फरक हुने देखिएको छ। उनले नेपालबाट प्रस्थान गर्दा विमानस्थलमा उच्चपदस्थ अधिकारीहरूको लामो बिदाइ कार्यक्रम नराख्ने भएका छन्। त्यस्तै, दिल्लीमा नेपाली राजदूतावास जाने, त्यहाँ रहेका नेपाली व्यवसायीसँग छुट्टै भेटघाट गर्ने र अन्य भारतीय मन्त्रीहरूसँग औपचारिक छलफल गर्ने कार्यक्रम पनि छैन।
करिब २५ घण्टा दिल्लीमा बिताउने प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। मोदीसँग एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरी उनी स्वदेश फर्किनेछन्।
नेपाली तथा भारतीय उद्योगी व्यवसायीसँगको छलफलको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई दिइएको छ।
भ्रमणका क्रममा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ऋण तथा अनुदानसम्बन्धी सम्झौता गर्ने तयारी छ। क्रिकेट, सूचना प्रविधि, ऊर्जा र पूर्वाधारलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। साथै, दुई देशबीच संयुक्त भिजन पेपर सार्वजनिक गर्ने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special