काठमाडौं, लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीका नाममा आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।
अदालतले रिट निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारणसहित जवाफ पेस गर्न भनेको छ। मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा कोष र डोल्माले आफ्ना कानुन व्यवसायीमार्फत जवाफ दिनुपर्नेछ।
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा मंसिर १४ गते दुवै पक्षबीच छलफल हुने तय भएको छ।
डोल्माको नागरिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको थियो। साथै, विगतमा उनको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको दाबीसहित नियुक्ति बदरको माग गरिएको छ। मन्त्रिपरिषद्ले असोज ३० गते उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।


NPL Special
NPL Special
NPL Special
NPL Special