काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्।
एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिँदै क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन्।
उनका अनुसार नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले आठवटै क्लबका लागि रंगशाला निर्माण गर्नेछ। फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने उनले बताएका छन्।
योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला तोकिएका छन्।
प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special