काठमाडौं, प्रशान्त महासागरको तापक्रम असामान्य रूपमा बढ्दै जाँदा सन् २०२७ मा शक्तिशाली एल निनो विकसित हुने सम्भावना बढेको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले एल निनोका कारण विश्वभर तापक्रम र वर्षाको स्वरूपमा ठूलो परिवर्तन आउन सक्ने चेतावनी दिएका छन्। एनओएएका अनुसार सन् १९५० पछिका सबै एल निनोका रेकर्ड तोड्ने गरी यो घटना शक्तिशाली बन्न सक्ने सम्भावना करिब ६० प्रतिशत छ।
एनओएएको नोभेम्बर १२ मा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२७ को जनवरीदेखि मार्चसम्म एल निनो बलियोदेखि अत्यन्त शक्तिशाली अवस्थामा रहने सम्भावना ७९ प्रतिशतभन्दा बढी छ। यसको प्रभावले विश्वका विभिन्न क्षेत्रमा तापक्रम वृद्धि, खडेरी, बाढी तथा असामान्य मौसमी गतिविधि बढ्न सक्छ।
विशेषगरी भारत, नेपाल, पाकिस्तान र बंगलादेशमा मनसुनी वर्षा प्रभावित हुने, तापक्रम बढ्ने तथा खडेरीको जोखिम सिर्जना हुन सक्ने चिन्ता छ। एल निनोका कारण मनसुन कमजोर भएमा कृषि उत्पादन घट्ने, जलस्रोतमा दबाब बढ्ने र खाद्यान्नको मूल्य वृद्धि हुने सम्भावना रहन्छ।
भारतमा मनसुनी वर्षा कम हुँदा त्यसको प्रभाव नेपालसहित दक्षिण एसियाका अन्य मुलुकमा समेत पर्न सक्छ। अर्कोतर्फ, केही क्षेत्रमा अत्यधिक वर्षा र बाढीको जोखिम पनि रहन सक्छ। यद्यपि, हरेक एल निनो वर्षमा मनसुन कमजोर हुने निश्चित छैन।
विश्व मौसममा यसको प्रभाव क्षेत्रअनुसार फरक पर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ। अस्ट्रेलिया र इन्डोनेसियामा कम वर्षा तथा डढेलोको जोखिम बढ्न सक्छ भने दक्षिण अमेरिकाका केही क्षेत्रमा अतिवृष्टि र बाढी आउन सक्छ। जलवायु परिवर्तनका कारण बढिरहेको विश्वव्यापी तापक्रमसँग एल निनोको प्रभाव जोडिँदा अत्यधिक गर्मीको जोखिम थप गम्भीर बन्न सक्छ।
यद्यपि, सन् २०२७ को मनसुनबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने बताइएको छ। हिन्द महासागरको तापक्रम, इन्डियन ओसन डाइपोल र अन्य मौसमी अवस्थाले पनि वर्षाको मात्रा निर्धारण गर्नेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special