काठमाडौं, युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा, विद्यार्थी तथा श्रमिक सडकमा उत्रिएका छन्। बढ्दो महँगी, बेरोजगारी, शिक्षा क्षेत्रमा बजेट कटौती, जलवायु संकट र सैन्य खर्च वृद्धिको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
बेलायत, फ्रान्स, स्पेन, इटाली र जर्मनीलगायत देशमा विद्यार्थीले विद्यालय, कलेज तथा विश्वविद्यालयका गतिविधि छाडेर प्रदर्शनमा सहभागिता जनाएका छन्। उनीहरूले सार्वजनिक सेवामा लगानी बढाउन, शिक्षालाई सहज बनाउन र जीवनयापनको खर्च घटाउन माग गरेका छन्।
इटालीमा १०० भन्दा बढी सार्वजनिक स्थलमा प्रदर्शन भएको ट्रेड युनियन सिजिआईएलले जनाएको छ। युनियनका प्रमुख माउरिजियो लान्दिनीले देशभरका प्रदर्शनमा १० लाखभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन्। जर्मनीको ह्याम्बर्गमा करिब चार हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए।
बेलायतको लन्डनमा विद्यार्थीले संसद् भवननजिकै मार्च गरेका थिए। उनीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती भइरहँदा युद्ध तथा सैन्य तयारीका लागि अर्बौं रकम खर्च गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रदर्शनकारीले गाजामाथि इजरायलको युद्धमा आफ्ना सरकारहरूले दिएको समर्थनको समेत विरोध गरेका छन्। उनीहरूले युद्ध र पुनःसैन्यीकरणमा खर्च हुने रकम शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक सेवामा लगानी गर्न माग गरेका छन्।
जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताका कारण रोजगारी तथा आर्थिक सुरक्षामा पर्न सक्ने असर पनि आन्दोलनका प्रमुख एजेन्डा बनेका छन्। देशअनुसार माग फरक भए पनि आर्थिक न्याय, सार्वजनिक सेवा सुधार र युद्धविरोधी आवाजले युरोपभरका प्रदर्शनलाई जोडेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special