काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज शनिबार लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल विराटनगरका लागि प्लेअफ यात्रा कायम राख्न महत्त्वपूर्ण हुनेछ भने लुम्बिनी आफ्नो बलियो लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
लुम्बिनी यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। विराटनगर भने प्रतियोगिताबाट बाहिरिने जोखिममा रहेकाले जित्नैपर्ने दबाबमा छ। लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेको विराटनगरका लागि आजको नतिजाले प्लेअफ सम्भावना निर्धारण गर्नेछ। दुई टोलीबीच एनपीएलका अघिल्ला तीन भेटमा लुम्बिनीले दुई खेल जितेको छ भने विराटनगरले एक खेल आफ्नो पक्षमा पारेको छ। सन् २०२५ को लिग चरण र क्वालिफायर–२ मा लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो। सन् २०२४ को पहिलो संस्करणमा भने विराटनगर दुई विकेटले विजयी भएको थियो। लुम्बिनीले यस सिजन ६ खेलबाट नौ अङ्क जोडेको छ भने विराटनगरले समान खेलबाट छ अङ्क हासिल गरेको छ। पछिल्लो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई चार विकेटले हराएको थियो भने लुम्बिनीले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, लोकेश बम र अन्य प्रमुख खेलाडीको प्रदर्शन निर्णायक हुन सक्छ। लुम्बिनीका कप्तान रोहित पौडेल, डार्सी सर्ट र रुबेन ट्रम्पेलम्यानबाट पनि टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ। आजको प्रतिस्पर्धाले विराटनगरको प्लेअफ सम्भावना र लिग चरणको अन्तिम समीकरणलाई थप रोचक बनाउनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special