काठमाडौं, नागढुंगा–मुग्लिन सडकखण्ड आज (शनिबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। चितवनको घोप्टेभीरमा लगातार पहिरो खसिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिने जानकारी दिएका छन्।
घोप्टेभीरमा निरन्तर पहिरो खसिरहेका कारण सडकमा जोखिम बढेको र पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। सडक बन्द भएको समयमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ।
उक्त अवधिमा नागढुंगा–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ। पहिरो पन्छाउने काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन नियमित गरिने प्रशासनले जनाएको छ।
घोप्टेभीरमा बिहीबार पहिरो खसेको थियो। त्यसयता पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा जोखिम कायम रहेको छ।



NPL Special
NPL Special
NPL Special
NPL Special